कांग्रेसको १५ औँ महाधिवेशन वैशाख अन्तिम साता, निर्णयविरुद्ध महामन्त्रीद्वयको बिद्रोह

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्र गम्भीर विवाद सतहमा आएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गराए पनि नेतृत्वको उक्त निर्णयलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खुला रूपमा अस्वीकार गरेका छन्।

बैठकबाट पारित कार्यतालिकाअनुसार कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ। यसअघि पुसमै प्रस्ताव गरिएको महाधिवेशन विभिन्न आन्तरिक समस्या र व्यवस्थापकीय असफलताका कारण हुन नसकेपछि परिमार्जित कार्यतालिका बहुमतले जबर्जस्ती पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले स्वीकारे।

महतका अनुसार बैठकले केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्ने विवादास्पद निर्णयसमेत गरेको छ। यसअघि मंसिर १५ को बैठकले माघ मसान्तसम्म मात्र म्याद थपेको थियो। तल्ला कमिटीका म्यादहरू पनि विधानको नाममा थपिँदै जाने निर्णयले नेतृत्व सत्तामा टाँसिन खोजेको आरोप पार्टीभित्रै उठ्न थालेको छ।

नेतृत्वको निर्णयप्रति तीव्र असन्तोष जनाउँदै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वानको तयारी थाल्ने घोषणा गरेका छन्। उनीहरूले १४ औँ महाधिवेशनका प्रतिनिधिहरूलाई तयारी अवस्थामा रहन आह्वान गर्दै पार्टीभित्र निर्णायक संघर्षको संकेत दिएका छन्। कांग्रेसभित्रको यो टकरावले पार्टी एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here