तुलसीपुरमा आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम

तुलसीपुर, २७ कात्तिक ।  दाङको तुलसीपुरमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज बिहीबार दाङको तुलसीपुरस्थित ड्रिम्स बैंक्वेट एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीको समझ र जिम्मेवार ऋण प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तुलसीपुरको आयोजना तथा सेवा फाउन्डेशन नेपालको सह–आयोजनामा भएको कार्यक्रममा स्थानीय उपभोक्ता समूहका प्रतिनिधि, महिला सदस्य, साना उद्यमी तथा लघुवित्तका ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले वित्तीय साक्षरताको माध्यमबाट व्यक्तिको आर्थिक व्यवहार सुधार हुने, आम्दानी–खर्च व्यवस्थापनमा सजिलो हुने र दिगो समृद्धिको आधार तयार हुने बताएका थिए । कार्यक्रममा वित्तीय योजना बनाउने तरिका, ऋण र बचतबीचको सन्तुलन, बीमा र वित्तीय सुरक्षाबारे व्यावहारिक जानकारीसमेत दिइएको थियो । ग्रामिण विकास लघुवित्तका प्रतिनिधिहरूका अनुसार यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रका आम नागरिकलाई आर्थिक निर्णयमा सचेत बनाउने र लघुवित्त सेवा अझ प्रभावकारी रूपमा विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पुर्वउपाध्यक्ष नहकुल केसी, सञ्चालन तथा सुपरीवेक्षण कार्यलय नेपालगञ्जका प्रमुख धन प्रसाद तिवारी, उप प्रबन्धक मुकन्द अधिकारीलगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकी कल्पना चौधरीले गर्नुभएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here