Home Blog

हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना

२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।

केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद ढकालका अनुसार आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो ।

अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराईका क्षेत्रमा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको उनले जानकारी दिए ।

तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, यो अवस्था स्थिर नरही मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् ढकालको भनाइ छ । तराई मधेशका बासिन्दाले तपतप शीत चुहिने गरेकाले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । तर मौसम विज्ञान विभागले भने अहिलेको अवस्थालाई ‘शीतलहर’ नै भन्न नसकिने जनाएको छ ।

तत्काल छैन वर्षाको सम्भावना

नेपालमा आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहे पनि केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रमा भने वर्षाको तत्कालै कुनै संकेत देखिएको छैन । महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो वर्षा गराउने कुनै पनि मौसमी प्रणाली सक्रिय हुने देखिँदैन ।

यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण थियो । सोही प्रक्षेपण अनुसार नै लामो समयदेखि पानी पर्न सकेको छैन । विभागका अनुसार हिउँदमा स्वभाविक रूपमै कम पानी पर्ने भए पनि यस वर्ष वर्षाको मात्रा अझ कम देखिएको हो ।

मौसमविदहरुका अनुसार नेपालमा केही वर्षयता हिउँदे वर्षा हराएको छ र सुक्खा बढ्दो क्रममा छ । यसले मानव स्वास्थ्य र कृषि प्रणालीलाई असर पुर्‍याएको भन्दै विज्ञहरु चिन्तित छन् । यसो हुनुमा कतिपयले जलवायु परिवर्तनको असर ठान्ने गरेका छन् ।

भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।

हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत बताउँछ ।

खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट र छलफल हुँदै आएको छ ।

स्रोत भन्छ- एमालेलाई ७/७ र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी राष्ट्रिय सभामा सिट बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल जारी छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव राखेका छन् । शीर्ष नेताहरुको छलफलबारे जानकार एक नेताका अनुसार प्रचण्डले ‘सम्मानजनक सिट’मा सहमति भए राष्ट्रियसभामा मिलेर जान सकिने बताएका छन् ।

दाङको संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी दुव्र्यबहार गर्ने एकजना पक्राउ

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् ।

मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन् । ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए । ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ,’ मुख्यमन्त्री यादवको भनाइ छ ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने बताएका छन् । साथै, कुनै पनि किसिमका अफवाह र घृणात्मक गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिनेमा विश्वस्त रहन आग्रह पनि गरेका छन् ।

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।

यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।

पछिल्लोपटक डा. पाँडेले पनि बन्दसूचीमा रहिरहने औचित्य नरहेको बताएका छन् । समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको उनको भनाइ छ ।

उनले आज फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ ।’

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताउँछन् ।

प्रमुख तीन दल मिलेर चुनाव लड्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ ।’

२० पुस, काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो । छलफलमा सहमति भए/नभएको बारे सार्वजनिक भएको छैन ।

नेता पुनले तालमेलको विषयमा छलफल भएको तर टुंगो लागिनसकेको पनि बताएका छन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । राष्ट्रपतिबाट मनोनितको हकमा सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित हुन्छन् ।

बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रमुख तीन दल एक्ला एक्लै लड्ने अवस्था नभएकाले तालमेलको प्रयास भएको नेताहरू बताउँछन् । कांग्रेस र एमाले मिल्दा अन्तरघातको डर भएको र कांग्रेस र एमालेमध्ये जसले नेकपासँग तालमेल गरेता पनि अर्को पक्षलाई घाटा हुने अवस्था रहेकाले तीन वटै पक्षबीच तालमेलको प्रयास भइराखेको हो ।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेतारू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन् ।

यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । तर, नेताहरूले भेटका विषयबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा दलहरूबीच छलफल चलिरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कुराकानी भइराखेको छ । तर, केही टुंगो लागिसकेको अवस्था होइन ।’

प्रमुख तीन दल नै मिलेर चुनाव लड्ने प्रयासमा रहेका नेताहरूको तर्क छ– ठूला शक्तिहरु मिले भने एउटा बलियो सन्देश जाने कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन । कसैको केही सिट तल माथि हुने न हो ।

कुन प्रदेशमा मतभार कति ?

यदि राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख तीन दल मिले भने अर्को प्रतिस्प्रर्धी दल नै हुने छैन । किनभने सातै प्रदेशको मतभारमा तीन दल मिल्दा धेरै नै बलिया हुनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

कोशी प्रदेशमा एमालेको ४२१०, कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार जोड्दा ९५५५ पुग्छ । यो कुल मतभार १०१३५ को ९० प्रतिशत बढी हो ।

मधेश प्रदेशको मतभारमा पनि तीन दल दुई तिहाइ मतभारमा छन् । जहाँ कांग्रेस ३१०४, एमाले २४०८ र नेकपा १३४६ मिल्दा मतभार ६८५८ पुग्छ । मधेश प्रदेशमा कुल मतभार १०८३९ छ ।

बागमती प्रदेशको अवस्था उस्तै हुनेछ । कांग्रेसको ४०१३, नेकपाको २७३८ र एमालेको २५७१ जोड्दा ९३२२ पुग्छ । यहाँ कुल मतभार १० हजार ३३५ मतभार छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २७०४, एमालेको २४५८ र नेकपाको १०१३ जोड्दा ६१७५ मतभार पुग्छ । यहाँ कुल मतभार ६४१० छ । अर्थात्, तीन् दल मिले ९० प्रतिशत बढी बहुमतमा हुनेछन् ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि तीन दल मिलेर चुनाव लडे भने ७३८५ मतभार पुग्छ । लुम्बिनीमा कुल मतभार ८७५३ छ । यहाँ तीन दल मिले अर्को कुनै पक्षले चुनाव जित्न सक्ने अवस्था रहन्न ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । नेकपाको १८४४ मतभार छ । एमालेको ११९५ मतभार छ । तीन वटै दल मिल्दा ४९०२ मतभार हुन्छ । यो प्रदेशमा कुल मतभार ५१५२ छ ।

सुदूरपश्चिममा पनि उस्तै अवस्था छ । कांग्रेसको २५५८, एमालेको १५३३ र नेकपाको १३६५ मतभार जोड्दा ५४५६ पुग्छ । यहाँ कुल ६१५३ मतभार छ ।

अर्थात्, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख तीन दल नै मिलेपछि प्रतिस्प्रर्धा कसैसँग हुने छैन ।

डोल्पा घटना : चौकीका प्रहरी सम्पर्कमा, युवक बेपत्ता

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।
घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

२० पुस, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा तोडफोडपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा गएर बसेको र अवस्था सामान्य भएपछि शनिबार राति नै सम्पर्कमा आएको बताए ।

घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।

गत शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङको क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएको घटनालाई लिएर स्थानीयवासीले शनिबार साँझ प्रहरी चौकी आक्रमणमा उत्रिएका थिए । आक्रमणबाट प्रहरी चौकीमा क्षति पुगेको छ । केही प्रहरी घाइते भएका छन् ।

लागुऔषध ओसारपसारको आरोपमा प्रहरीले छेप्के पुलमा रोकायामाथि जाँच गर्न खोज्दा उनी नदीमा हामफालेको प्रहरीको भनाइ छ । तर स्थानीयले भने प्रहरीले लखेटी–लखेटी नदीमा खसालेको आरोप लगाएका छन् ।

नदीमा बेपत्ता रोकायाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी भइरहेको छ ।

छानबिन समिति गठन, चौकीका सबै प्रहरी सदरमुकाम तानिए

यी समग्र घटना छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालय करोपगार्डका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ । युवक वेपत्ता घटनामा प्रत्यक्ष जोडिएका चार जना प्रहरीमाथि पनि अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

साथै स्थानीय जनप्रतिनिधिहरुको समन्वयमा वार्ताको प्रयास पनि भइरहेको उनले जानकारी दिए । निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन प्रशासन तयार रहेको उनले बताए ।

घटनाको विरोधमा ल्हाँका गाउँका बासिन्दाले डोल्पामा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाले दिए राजीनामा, रास्वपा प्रवेश गर्दै

२० पुस, बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका  निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारुले बताए ।

नाउपा परित्याग पछि सोमबार भोलि नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित हुने उनले जानकारी दिए ।

तुलसीपुरमा सृजनशील लेखन कार्यशाला

तुलसीपुर, १९ पुस । दाङको तुलसीपुरमा सृजनशील लेखन कार्यशालाको उदघाटन गरिएको छ । पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालाको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले उदघाटन गर्नुभएको हो । तुलसीपुर क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्र्दैै तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । सृजनशील कार्यशालामा हाँस्यव्याङग्य कलाकार हरिवंश आचार्य, लेखकहरु बिमल आचार्य, सुनिल भट्टराईले पठन संस्कृति, लेखनशैली, यसको महत्व, व्यक्तीत्व विकास, यसको सम्भवना र समाजिक क्षेत्रमा यसले पार्ने सकारात्मक प्रभावका विषयमा प्रस्तुती राख्नुहुने छ । कार्यक्रम दिनभर संचालन हुने छ ।

तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पूर्व नगर प्रमुख घनश्याम पाण्डे, साहित्यकार तथा लेखक डा.नवराज लम्साल लगायतले सकारात्मक सोचको विकास बिना सभ्यसमाज र समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका थिए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा विषय वस्तुमाथि तुलसीपुर मेट्रो कलेका प्रमुख वसन्त आचार्यले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासशाखा अधिकृत मन बहादुर खडकाले गर्नुभएको थियो । कार्यक्रममा सयौं विद्यार्थी, शिक्षक तथा अध्यताहरुको सहभागिता रहेको छ ।

राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि

राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि

भालुवाङ २९ मंसिर । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहने छ । जसमा करिव ३० वटा कृषि तथा उद्यम विकासका स्टल राखिने छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सँगै महोत्सवको मुख्य आकर्षकको रुपमा जलपरि रहने साथै चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहने छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिने झाँकी मध्ये प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए ।  महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा सुरज खड्काको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बसन्त गिरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, बासुदेव न्यौपानेकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति र झाँकी व्यवस्थापन उपसमिति, चन्द्र प्रकाश आचार्यको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, जगत प्रसाद पोख्रेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, विष्णु प्रसाद बोहराको संयोजकत्वमा आर्थिक उपसमिति, मोहन आचार्यकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, हिमानन्द पाण्डेको संयोजकत्वमा अनुगमन उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, बिनोद कुमार पाण्डेयको संयोजकत्वमा यातायात उपसमिति र चन्द्र प्रकास आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बसन्त गिरी, उपाध्यक्ष चन्द्र प्रकास आचार्य, महासचिव बासुदेव न्यौपाने लगायत विभिन्न संचार माध्यमका संचाकर्मीहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।